सिमकार्डबिनै विपत्को पूर्वसूचना दिने प्रणाली सञ्चालनको तयारी



काठमाडौँ, भदौ २४ । सरकारले सिमकार्ड नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका मोबाइलमा विपत्को पूर्वसूचना पठाउन सकिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली सञ्चालनको तयारी गरेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा कार्यविधि अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। प्रणालीमार्फत बाढी, पहिरो, भूकम्पलगायत विपत्को सूचना एकैपटक ठूलो सङ्ख्यामा मोबाइलमा पठाउन सकिनेछ।

एसएमएसभन्दा प्रभावकारी हुने यो प्रणालीमा मोबाइलको स्क्रिनमा सूचना ‘अलर्ट’का रूपमा देखिने, आवाज र भाइब्रेसन आउने व्यवस्था गर्न सकिनेछ। नेटवर्कमा अत्यधिक चाप भए पनि यस्तो सन्देश पठाउन सकिने बताइएको छ।

प्रणाली सञ्चालनका लागि केन्द्रीय हार्डवेयर र सर्भर आवश्यक पर्ने तथा जल तथा मौसम विज्ञान विभाग, सुरक्षा निकायलगायतलाई समेत यसमा जोडिने तयारी छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालमा पनि विपत् पूर्वसूचनालाई थप प्रभावकारी बनाउन यो प्रणाली अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्