भदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न ओलीको माग



काठमाडौँ, भदौ २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

तत्कालीन प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आज जारी गर्नुभएको प्रेस वक्तव्यमार्फत भदौ २३ गतेको युवा प्रदर्शनका क्रममा गोली लागी ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले त्यसपछिका घटनामा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग राख्नु स्वाभाविक भएको उल्लेख गर्दै संविधानले शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।

आफू नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले घटनाको न्यायिक छानबिनका लागि आयोग गठन गर्ने, सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको उहाँले स्मरण गर्नुभएको छ । घटनाको नैतिक जिम्मेवारी लिँदै तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको पनि वक्तव्यमा उल्लेख छ ।

भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र आक्रमणलाई अध्यक्ष ओलीले दुःखदायी क्षणका रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्