भोटेकोसी बाढी प्रभावित त्रिभुवन त्रिशूली माविका लागि ३० करोडको ‘बिग स्कुल’ प्रस्ताव
नुवाकोट, भदौ २४ । भोटेकोसी बाढीबाट पूर्ण रूपमा प्रभावित विदुर नगरपालिका–स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुनरुत्थानका लागि आवासीय सुविधासहितको ‘बिग स्कुल’ निर्माण गर्ने प्रस्ताव अघि सारिएको छ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा नगरपालिकाको सभाहलमा मंगलबार भएको छलफलमा सो प्रस्ताव प्रस्तुत गरिएको हो। छलफलमा सभामुख डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सस्मित पोखरेल, नुवाकोट–२ बाट निर्वाचित सांसद अचुतम लामिछानेसहित सरोकारवालाको सहभागिता थियो।
नगरप्रमुख श्रेष्ठले विद्यालयको पुनरुत्थानका लागि आवासीय सुविधासहितको आधुनिक ‘बिग स्कुल’ निर्माण गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो। प्रस्तावअनुसार विद्यालय निर्माणका लागि करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
छलफलपछि शिक्षा मन्त्री पोखरेलले दातृ निकायसँगको सहकार्यमा प्रस्तावित ‘बिग स्कुल’ अवधारणालाई कार्यान्वयनमा लैजान प्रतिबद्धता जनाउनुभएको छ। उहाँले बाढीबाट प्रभावित विद्यालयको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक सहकार्य गर्ने बताउनुभएको हो।
प्रस्ताव सकारात्मक र उत्कृष्ट रहेको भन्दै सभामुख अर्यालले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। यस्तै, सांसद लामिछानेले प्रस्ताव कार्यान्वयनका लागि सम्बन्धित निकायदेखि संसद्सम्म आवश्यक पहल गर्ने बताउनुभएको छ।

