बाढी प्रभावित नुवाकोटका परिवारलाई भाँडाकुँडा, उपचार सामग्री र नगद सहयोग
नुवाकोट,भदौ २४ । बाढीबाट प्रभावित नुवाकोटका विभिन्न परिवारलाई खाना पकाउने भाँडाकुँडासहित प्राथमिक उपचार सामग्री र नगद सहयोग गरिएको छ।
बुधबार हेल्पिङ हर्ट नेपालले विदुर नगरपालिकाका बाढी प्रभावित झण्डै एक सय परिवारलाई भाँडाकुँडा, म्याट, प्राथमिक उपचार सामग्री तथा प्रतिपरिवार तीन हजार रुपैयाँका दरले नगद सहयोग गरेको संस्थाका अध्यक्ष जियाउद्धिन खानले जानकारी दिए।
अध्यक्ष खानका अनुसार बाढी आएदेखि नै संस्थाले विदुर नगरपालिकाका प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउँदै आएको छ। संस्थाले यसअघि खाद्यान्न, भान्छाका सामग्री तथा सरसफाइका सामग्री वितरण गर्नुका साथै दैनिक करिब पाँच सय परिवारलाई खाना खुवाउँदै आएको उनले बताए।
बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने र राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ।

