चिलिमे जलविद्युत आयोजनाबाट २४ जना उद्धार भएको समाचार गलत
रसुवा, भदौ २४। चिलिमे जलविद्युत आयोजनामा २४ जना सकुशल उद्धार भएको भन्ने समाचार गलत भएको जनाइएको छ ।
आयोजनामा उद्धार कार्य अझै जारी रहेको र हालसम्म २४ जना उद्धार भएको भन्ने समाचारमा कुनै सत्यता नभएको सुरुङविद् श्रीराम न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज साँझ वा भोलिसम्म अस्थायी सडक निर्माण गरी सुरुङभित्र उत्खनन गर्ने उपकरण पुर्याउने अपेक्षा गरिएको छ । उपकरण सुरुङभित्र पुगेपछि उद्धार कार्यले तीव्रता पाउने र बढीमा तीन दिनभित्र उद्धार कार्य सम्पन्न हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।
उद्धार कार्यबारे विभिन्न माध्यमबाट गलत सूचना फैलिन थालेपछि आयोजनासँग सम्बन्धित व्यक्तिहरूलाई फोनमार्फत चासो र जानकारी लिने क्रम बढेको जनाइएको छ ।
हाल उद्धारका लागि आवश्यक काम भइरहेको र यथार्थ विवरण आधिकारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।

