भोटेकोशी बाढी : मृतकको संख्या १ हजार ३ सय ६७ पुग्यो
रसुवा,भदौ २४ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ६७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा १ सय ७४, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २७ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ।
फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय ४८ शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ डिएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन बाँकी १ हजार २ सय ९५ शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
यस्तै, बाढीबाट प्रभावित १३ हजार ५ सय ८३ जनाको उद्धार भइसकेको छ भने बाढीपछि बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

