तादी खोलामा एक्रो ब्रिज जडान, भोलिदेखि सञ्चालनमा आउने
नुवाकोट,भदौ २४ । गत भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणअन्तर्गत विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जोड्ने तादी खोलामा एक्रो ब्रिज जडान गरिएको छ।
नेपाली सेनामार्फत जडान भइरहेको उक्त पुल निर्माणमा विदुर नगरपालिकाले आवश्यक सहजीकरण गर्दै ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्टलगायत निर्माण सामग्री उपलब्ध गराएको जनाएको छ।
बाढीका कारण आवागमनमा समस्या भएपछि वैकल्पिक रूपमा निर्माण गरिएको उक्त एक्रो ब्रिज भोलि बिहीबारदेखि सञ्चालनमा ल्याइने तयारी गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो।
पुल सञ्चालनमा आएपछि देवीघाट र बेलकोटगढी–८ बीचको आवागमन सहज हुनुका साथै बाढीबाट प्रभावित स्थानीयवासीलाई राहत पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

