बाढी प्रभावित नुवाकोटमा पुनःस्थापना र पुनर्निर्माणको माग
नुवाकोट,भदौ २४ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट नुवाकोटसहित ६ जिल्ला प्रभावित बनेपछि प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरिएको छ।
बाढीबाट विदुर नगरपालिकाका विभिन्न वडामा भएको जनधन तथा भौतिक संरचनाको क्षति, प्रभावित नागरिकका समस्या तथा तत्कालीन र दीर्घकालीन समाधानका उपायबारे बुधबार विदुरमा छलफल तथा बाढीसम्बन्धी अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढी प्रभावित नागरिकले तत्काल राहतसँगै सुरक्षित पुनःस्थापनाको माग गरिरहेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई गराएका थिए। उनले बाढीबाट क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको पुनर्निर्माण र प्रभावित परिवारको पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गरे।
यही भदौ १० गते बुधबार आएको भीषण बाढीबाट नुवाकोट, रसुवासहित विभिन्न ६ जिल्लामा भएको क्षतिको समीक्षा गर्दै राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका विषयमा छलफल गरिएको हो। कार्यक्रममा बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, प्रभावित नागरिकका समस्या, राहत तथा पुनःस्थापनाको अवस्था, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानी र योजनाबारे विस्तृत छलफल भएको थियो।
कार्यक्रममा सरकारका प्रवक्ता सस्मित पोखरेल, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछाने, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल तथा विदुर नगरपालिकाका बाढी प्रभावित वडा नं. १, २, ४, ५, १० र ११ का वडाध्यक्षहरूले आ–आफ्नो क्षेत्रमा भएको क्षतिको जानकारी गराएका थिए।
छलफलमा बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत व्यवस्थापनसँगै विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य थप सुदृढ गर्ने विषयमा जोड दिइएको विदुर नगरपालिकाले जनाएको छ।
नगरप्रमुख श्रेष्ठले बाढी प्रभावित नागरिकका समस्या समाधान, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताए। प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका काम योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो।

