विपत्तिले भत्काएको पुलमा आशाको ‘बेलिब्रिज’, आजदेखि त्रिदेशीय सडकमार्ग सञ्चालन हुने
नुवाकोट, भदौ २५ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि अवरुद्ध त्रिदेशीय सडकमार्ग सञ्चालनमा ल्याउन नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजको काम सम्पन्न भएको छ । एक सातादेखि जारी निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि उक्त सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी गरिएको हो।
बाढीले त्रिदेशीय सडकमार्गअन्तर्गत वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकखण्डको देवीघाटस्थित तादी खोलामा रहेका दुई वटा पुल बगाएको थियो। पुल बगाएपछि अवरुद्ध सडकमार्ग सुचारु गर्न नेपाली सेनाको इन्जिनियरिङ टोलीले बेलिब्रिज निर्माण थालेको थियोे ।
‘विपत्तिले भत्कायो, पुनः आशाको पुल जोड्दैछौँ’ भन्ने नारासहित विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी निर्माण गरिएको बेलिब्रिज ५० मिटर लामो छ। नेपाली सेनाको इन्जिनियरिङतर्फका ५५ जनाको टोलीले पुल निर्माण गरेको हो।
निर्माण सम्पन्न भएपछि आजै पुल उद्घाटन गरी यातायात सञ्चालन गर्ने तयारी रहेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।बेलिब्रिज सञ्चालनमा आएपछि रसुवा, नुवाकोट हुँदै राजधानी तथा देशका विभिन्न भागसँग जोडिने महत्वपूर्ण सडकमार्गमा आवागमन सहज हुने सेनाले जनाएको छ। पुल सञ्चालनमा आएपछि लाखौँ सर्वसाधारण लाभान्वित हुने प्रवक्ता बस्नेतले बताए।
देवीघाटमा बेलिब्रिज उद्घाटन गरेलगत्तै त्रिशूली र बेत्रावती क्षेत्रमा पनि बेलिब्रिज निर्माणको काम सुरु गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। बाढीबाट क्षतिग्रस्त भएका मर्मतयोग्य पाँच वटा झोलुङ्गे पुलको मर्मत सेनाले गरिरहेको छ भने थप १५ वटा झोलुङ्गे पुल मर्मतको तयारी भइरहेको छ।
यसैगरी, नेपाली सेनाका इन्जिनियरको प्राविधिक परामर्शमा विदुर नगरपालिका–१ ढुङ्गेस्थित बुद्ध मन्दिरको तल्लो भागदेखि त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणको कामसमेत अघि बढाइएको छ। बाढीबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्दै सर्वसाधारणको आवागमन सहज बनाउन सेना निरन्तर खटिएको जनाएको छ।
बाढीले बगाएको तथा हिलो, ढुङ्गा र गेग्रानले पुरिएको विदुर नगरपालिका–५ स्थित देवीघाट बजार क्षेत्रमा पनि नगरपालिकामार्फत उपलब्ध गराइएको हेभी उपकरण प्रयोग गरी पुरिएका संरचना खोतल्ने र फोहोर हटाउने काम भइरहेको छ।
यसैबीच, त्रिशूली नदीमा रहेका पुल बगाएपछि अवरुद्ध नदी वारपारको आवागमन सहज बनाउन ढुङ्गे–त्रिशूली तथा सिमचौर–गौरीबेँसी क्षेत्रमा मोटरेबल पुल निर्माणको सम्भाव्यता तथा प्राविधिक अध्ययन गरिएको छ। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका अधिकारी तथा प्राविधिक टोली र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका सल्लाहकार आरपी महतसहितको टोलीले सिमचौर पुगेर अध्ययन गरेको हो। प्राविधिक प्रतिवेदन प्राप्त भएलगत्तै पुल निर्माणको काम अघि बढाउने सेनाले जनाएको छ।
यता, प्रतिनिधिसभाको अर्थ समितिले भोटेकोशी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसँग सम्बन्धित विषयमा अध्ययन र विश्लेषण गर्ने भएको छ। समितिको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ।
उपसमितिमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लीमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैद्य सदस्य छन्। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई भोटेकोशी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी अध्ययन गरी आगामी असोज २ गतेभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले हजारौँ घर तथा दर्जनौँ पक्की पुल बगाएपछि रसुवा–नुवाकोट हुँदै जोडिने त्रिदेशीय सडकमार्ग लामो समयदेखि प्रभावित हुँदै आएको छ। पछिल्लो समय बेलिब्रिज तथा वैकल्पिक पुल निर्माणलाई तीव्रता दिइएसँगै अवरुद्ध सडक र आवागमन क्रमशः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

