बाढी प्रभावितका लागि नुवाकोटमा रेडक्रसको आपतकालीन क्लिनिक, एकै दिन ११९ जनाले लिए सेवा
नुवाकोट, भदौ २५ । भदौ १० गते भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको आपतकालीन क्लिनिकबाट बुधबार ११९ जनाले स्वास्थ्य सेवा लिएका छन्।
नेपाल रेडक्रस सोसाइटीले त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा मंगलबारदेखि आपतकालीन क्लिनिक सञ्चालन गरेको हो।
विभिन्न स्वास्थ्य समस्या लिएर आएका बाढी प्रभावित ११९ जनाले क्लिनिकबाट उपचार तथा स्वास्थ्य परामर्श सेवा लिएका छन्।
बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्बन्ध विच्छेद भएपछि बट्टार, विदुर, देवीघाटलगायत क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य उपचारमा समस्या भएको थियो। आपतकालीन क्लिनिक सञ्चालनमा आएपछि स्थानीयस्तरमै स्वास्थ्य सेवा पाउँदा प्रभावित सर्वसाधारणले राहत महसुस गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सूचना तथा सञ्चार उपसमिति संयोजक ज्ञानेन्द्र गिरीका अनुसार बाढीबाट तारकेश्वर गाउँपालिकामा १५० र किस्पाङ गाउँपालिकामा करिब २५० घरधुरी प्रभावित भएका छन्। त्यस्तै, विदुर नगरपालिकामा मात्रै करिब १ हजार ५०० घरधुरी बाढीबाट प्रभावित भएका छन्।
बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको आपतकालीन क्लिनिक आज बिहान ९ बजेदेखि पुनः सञ्चालन हुने रेडक्रसले जनाएको छ।

