सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ, उद्धारको प्रयास नरोकौँ : इन्जिनियर न्यौपाने



रसुवा, भदौ २५ । चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारको सम्भावना अझै जीवित रहेको भन्दै उद्धार कार्यलाई तीव्रता दिनुपर्ने आयोजनाका इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनले सुरुङभित्रको लेदो, माटो, ढुंगा र पानीको अवस्थाको प्राविधिक विश्लेषण गर्दै फसेका ६ जना लामो समयसम्म जीवित रहन सक्ने सम्भावनालाई नकार्न नहुने बताएका हुन् ।

न्यौपानेका अनुसार सुरुङको मुखसम्म सडक पु¥याएर उत्खननका लागि आवश्यक उपकरण सञ्चालन गर्ने योजना रहे पनि विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल र विस्फोटसम्बन्धी गतिविधिका कारण सडक विस्तारको काम केही प्रभावित भएको छ । अहिले थप दुई वटा उत्खनन उपकरण साइटमा पुगेका छन् भने सडक सुरुङको मुखबाट करिब ४० मिटर नजिक पुगेकाले उद्धार कार्यले गति लिने विश्वास गरिएको छ ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले सुरुङभित्रको लेदो म्यानुअल रूपमा पन्छाउने, आवश्यक विस्फोट र सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको उनले बताएका छन् । धुन्चेमा विभिन्न निकायबीच भएको छलफलमा विस्फोट गर्दा जोखिम बढ्न सक्ने तथा सुरुङभित्र ठूलो परिमाणमा पानी थुनिएको हुनसक्ने विषयमा चिन्ता व्यक्त भए पनि सावधानीपूर्वक गरिने नियन्त्रित विस्फोटले उद्धार कार्यलाई थप तीव्र बनाउन सक्ने उनको धारणा छ ।

न्यौपानेले सुरुङभित्र प्रतिसेकेन्ड करिब नौ लिटर पानी चुहावट भइरहेको आधारमा २४ हजार घनमिटर पानी दबाबमा थुनिएको हुनसक्ने तर्कसँग प्राविधिक असहमति जनाएका छन् । सुरुङको बनोट, धरातलीय अवस्था र बाढीका क्रममा पसेको लेदोको अवस्थालाई हेर्दा उक्त परिमाणको पानी पावर हाउसको माथिल्लो भागसम्म थुनिएर बस्ने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

उनका अनुसार बाढीका क्रममा तीव्र वेगमा सुरुङभित्र पसेको लेदो, माटो, ढुंगा, गिट्टी, बालुवा, केबुल, पाइप, भेन्टिलेसन तथा अन्य सामग्रीले पावर हाउसको हावालाई माथिल्लो भागतर्फ धकेलेको हुनसक्छ । डिजाइनअनुसार पावर हाउसमा पानी र लेदोको स्तर कायम भएपछि माथिल्लो भागमा बढीमा आठ मिटरजति खाली स्थान रहन सक्ने देखिन्छ । पावर हाउसको आकार, हावाको दबाब र पानी चुहावटको सम्भावित क्षेत्रलाई आधार मान्दा ठूलो परिमाणमा पानी थुनिएको अवस्था प्राविधिक रूपमा सम्भावित नदेखिएको उनले स्पष्ट पारेका छन् ।

सुरुङभित्रबाट चुहिने पानीका सम्बन्धमा पनि उनले विभिन्न सम्भावना औँल्याएका छन् । सुरुङको क्रस सेक्सन लेदोले भरिँदा लेदोको दबाबले पानी चुहिने बाटो बन्द भएर पानी पुनः त्यही मार्गतर्फ फर्किएको हुनसक्ने, बाढीले बगाएर ल्याएका सामग्रीबीच बनेको खाली स्थान तथा पानीको दबाबले बनाएको मार्ग हुँदै पानी टेलरेस सुरुङतर्फ गएर बाहिर निस्किएको हुनसक्ने उनको भनाइ छ । टेलरेस सुरुङको बाहिरी भागबाट निरन्तर सङ्लो पानी निस्किरहेको अवस्थाले पनि यो सम्भावनालाई बल पुग्ने उनले बताएका छन् ।

धुन्चेमा भएको छलफलपछि सुरुङको लेदो पन्छाउने क्रममा तत्काल ठूलो समस्या नहुने, उद्धार कार्यलाई निरन्तरता दिने, माथिल्लो भागबाट लेदो हटाउँदै अघि बढ्ने र आवश्यक नियन्त्रित विस्फोटलाई समेत जारी राख्ने निष्कर्षमा पुगेको उनले बताएका छन् । त्यसपछि नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसहित विज्ञ टोलीले समेत सुरक्षा निकायसँग छलफल गरी कामलाई निरन्तरता दिन सकिने सुझाव दिएको उनको भनाइ छ ।

न्यौपानेका अनुसार पावर हाउसको माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान हुनसक्छ । त्यहाँ ९२ वटा ठूला ब्याट्री, भान्छा, चामल, दाल, चिनी, चियापत्ती लगायतका खाद्य सामग्री तथा करिब एक हजार लिटर क्षमताको खानेपानी ट्यांकी रहेको जानकारी आफूले पाएको उनले बताएका छन् ।

बाढीका कारण माथिल्लो भागमा थुनिएको हावा र अक्सिजनको अवस्था कायम रहेको भए सुरुङभित्र रहेका ६ जना लामो समयसम्म जीवित रहन सक्ने सम्भावना रहेको उनको दाबी छ ।उनका अनुसार प्राविधिक विश्लेषणका आधारमा तीनदेखि चार सातासम्म जीवित रहन सक्ने सम्भावनालाई समेत नकार्न सकिँदैन । यद्यपि यसको वास्तविक पुष्टि उद्धार कार्य सम्पन्न भएपछि मात्रै हुने उनले स्पष्ट पारेका छन् ।

उनले उद्धारको आशा नमारी प्राविधिक सावधानीसहित खोज तथा उद्धार कार्यलाई अन्तिम क्षणसम्म तीव्रता दिन आग्रह गरेका छन् । “आशा जीवित छ । उद्धारको आशा नमारौँ, प्राविधिक विवेक नछोडौँ र उद्धारको गति नरोकौँ,” न्यौपानेले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्