बाढी प्रभावितको खोज, उद्धार र पुनस्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं,भदौ २५ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनस्थापनाका विषयमा छलफल हुने जनाइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा पुनस्थापनाको कामलाई निरन्तरता दिँदै आएको छ । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतसँगै पुनस्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारले विभिन्न प्रयास गरिरहेको छ ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउने तथा आवश्यक निर्णय गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको बताइएको छ । बैठकले बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता तथा पुनस्थापनाका लागि आवश्यक थप निर्णय गर्ने अपेक्षा गरिएको छ ।

