सडक सम्पर्कविहीन रसुवाका ६० घरधुरीलाई हेलिकप्टरबाट रेडक्रसको राहत
रसुवा, भदौ २५ । रसुवाको बाढीका कारण सडक सम्पर्कविहीन बनेको उत्तरगया गाउँपालिका–१ का थप ६० बाढी प्रभावित घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री वितरण गरेको छ।
नेपाल रेडक्रस सोसाइटी र उत्तरगया गाउँपालिकाले सङ्कलन गरेको राहत सामग्री हेलिकप्टरमार्फत वडा नं. १ मा पुर्याएर प्रभावित परिवारलाई वितरण गरिएको हो। राहत सामग्रीमा चामल, दाल, नुन, तेल, साबुन, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य सामग्री रहेका छन्।
त्यसैगरी मोबाइल चार्ज गर्न मिल्ने ४८ थान सौर्य बत्तीसमेत प्रभावित परिवारलाई वितरण गरिएको छ। सडक सम्पर्क विच्छेद भएका बस्तीमा राहत पुर्याउन रेडक्रसका स्वयंसेवक तथा कर्मचारीले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्ने, आवश्यक सामग्रीका लागि सरोकारवालासँग समन्वय गर्ने र सामग्री प्रभावित क्षेत्रमा पुर्याएर वितरण गर्ने काम गरिरहेका छन्।
हेलिकप्टरबाट राहत सामग्री पुर्याउने क्रममा सुरक्षित अवतरणका लागि रेडक्रसका स्वयंसेवकहरूले आवश्यक सङ्केतसमेत बनाएका थिए। यसअघि नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी, अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि शृङ्खला थापासहितको टोली वडा नं. १ मा पुगेर राहत वितरण सुरु गरेको थियो।
नेपाल रेडक्रस सोसाइटीले बाढीका कारण सडक सम्पर्क विच्छेद भएका रसुवाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ।

