ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा
काठमाडौं,भदौ २५ । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
पहिले ब्याटिङ गरेको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रन बनाए। सुरुआतमा दबाबमा परेको नेपाललाई दीपेन्द्र र बसिरले ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए।
नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि १४८ रनको लक्ष्य पछ्याएको ओमान २८ दशमलव १ ओभरमा ६० रनमै अलआउट भयो। कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले समान दुई विकेट लिए।
ओमानलाई सस्तैमा समेट्दै नेपालले ८७ रनको शानदार जित निकालेको हो। जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। प्रतियोगिताको फाइनल शनिबार, सेप्टेम्बर १२ मा हुनेछ।

