बाढी प्रभावित क्षेत्र अवलोकनका लागि नुवाकोटमा देउवा, खोज, उद्धार तथा पुनर्निर्माणलाई प्राथमिकता दिन आग्रह
नुवाकोट,भदौ २५ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्मका चार विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने क्रममा बिहीबार नुवाकोट पुगेका देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विपत्तिको अवस्था अत्यन्तै दुःखदायी रहेको भन्दै प्रभावित नागरिकप्रति दुःख व्यक्त गरे ।
उनले अहिलेको अवस्थामा सरकारले मुख्य रूपमा खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘विपत्तिको अवस्था अत्यन्तै दुःखदायी छ । यहाँका साथीभाइ तथा प्रभावित नागरिकप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु,’ देउवाले भने, ‘अहिले सरकारले मुख्य रूपमा चारवटा विषयलाई प्राथमिकतामा राख्नुपर्छ—खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माण ।’
पूर्वप्रधानमन्त्री देउवाले बाढी प्रभावित नागरिकका लागि सरकारले गरिरहेका काम र हुन नसकेका कामबारे आफूले आवाज उठाउने पनि बताए । उनले विपत्तिपछिको अवस्थामा प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै उनीहरूको दीर्घकालीन व्यवस्थापन र पुनर्निर्माणमा समेत सरकारले प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

