एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ



भक्तपुर,भदौ २५ । भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगर र भक्तपुर नगरपालिका–२ इटाछेबाट ठूलो परिमाणमा ग्यास सिलिण्डरसहित उनीहरूलाई पक्राउ गरेको हो।

बिहीबार साँझ करिब ५ बजे सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाह पक्राउ परेका हुन्। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल ब्रम्हनगरमा बस्दै आएका शाहले सञ्चालन गरेको किराना पसलबाट उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएको सूचना प्रहरीले पाएको थियो।

सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमान्डमा खटिएको टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यास सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, बिहीबार साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेबाट पनि ग्यास कालोबजारी गरेको आरोपमा ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन्। उनको साथबाट १४ वटा भरिएका सगर ग्यास सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याइएको छ। उनीहरूमाथि ग्यास कालोबजारीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्