नुवाकोटको लिखुमा विभिन्न कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइयो



नुवाकोट,भदौ २५ । नुवाकोटको लिखु गाउँपालिकामा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

दिवसका अवसरमा लिखु गाउँपालिका–४ चौघडास्थित श्री क्षेत्रपाल माध्यमिक विद्यालयमा कक्षा ६ देखि ८ तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच आत्महत्या रोकथामसम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

त्यस्तै, लिखु गाउँपालिका–१ ढिकुरेस्थित श्री नर्थ स्टार ओएसिस इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी तथा सरोकारवालाबीच आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

कार्यक्रममार्फत आत्महत्या रोकथामका लागि खुलेर संवाद गर्ने, समस्या पहिचान गर्ने तथा आवश्यक सहयोग र परामर्शका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा सचेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा सहयोग तथा सहभागिता जनाउने सम्पूर्णलाई आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्