नुवाकोटमा देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज सञ्चालनमा, भोटेकोसी बाढीपछि रोकिएको आवागमन खुल्यो
नुवाकोट,भदौ २५ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने तादी खोलामा नेपाली सेनाले निर्माण गरेको एक्रोब्रिज सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै भोटेकोसी बाढीका कारण अवरुद्ध देवीघाट हुँदै धादिङको गल्छीसम्मको आवागमन पुनः सञ्चालन भएको हो।
पुल सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, नेपाली सेनाका उपरथी रञ्जित थापासहित सैनिक अधिकृत, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुख, गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझा तथा विदुर र बेलकोटगढी नगरपालिकाका स्थानीयवासी र सरोकारवालाको उपस्थिति रहेको थियो।
भोटेकोसी बाढीपछि तादी खोलामा रहेको पुरानो संरचनामा क्षति पुगेपछि देवीघाट–जिलिङ सडकखण्डमा आवागमन प्रभावित भएको थियो। नेपाली सेनाले वैकल्पिक आवागमन सहज बनाउन एक्रोब्रिज निर्माण गरेको हो।
पुल निर्माणका लागि विदुर नगरपालिकाले आवश्यक हेभी उपकरण तथा निर्माण सामग्री उपलब्ध गराएको थियो। नगरपालिकाका अनुसार स्काभेटर, टिपरलगायतका उपकरण तथा गिट्टी, बालुवा, सिमेन्टलगायत निर्माण सामग्री सेनालाई उपलब्ध गराइएको थियो।
एक्रोब्रिज सञ्चालनमा आएपछि नुवाकोटका विदुर तथा बेलकोटगढी क्षेत्रबाट धादिङको गल्छीसम्म आवतजावत गर्ने स्थानीयवासी तथा यात्रुलाई सहज भएको छ। पुलले बाढीपछि प्रभावित सडक सम्पर्क पुनःस्थापित गर्न महत्वपूर्ण सहयोग पुगेको स्थानीय सरोकारवालाले बताएका छन्।

