वर्षाले बिगारेको छहरे–पाटी भञ्ज्याङ सडक पुनः सञ्चालनमा
नुवाकोट,भदौ २५ । पहाडी लोकमार्गअन्तर्गतको छहरे–पाटी भञ्ज्याङ सडक पुनः सञ्चालनमा आएको छ। नुवाकोटको शिवपुरी गाउँपालिकाले खहरे खोला र राउटे जंगल क्षेत्रमा आवश्यक निर्माण तथा मर्मतको काम सम्पन्न गरेपछि सडक आजदेखि सञ्चालनमा आएको हो।
वर्षाका कारण पटक–पटक क्षति पुग्दै आएको सडक निर्माणपछि सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। सडक बिग्रिएपछि यस क्षेत्र हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका थिए।
खहरे खोला र राउटे जंगल क्षेत्रमा सडकमा आवश्यक सुधार तथा मर्मत गरेपछि सवारीसाधन सञ्चालन गर्न सहज भएको छ। सडक सञ्चालनमा आएसँगै नुवाकोटको छहरे, शिवपुरी हुँदै पाटी भञ्ज्याङतर्फ आवतजावत गर्ने यात्रु तथा स्थानीयलाई राहत पुगेको छ।

