आज कुशेऔँशी: कुश भित्र्याउँदै, बाबुको मुख हेर्दै
काठमाडौँ, भदौ २६ । वैदिक सनातन धर्मावलम्बीले आज घरघरमा पवित्र कुश भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन् । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश आज शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलेर घरमा भित्र्याउने धार्मिक परम्परा रहेको छ ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आज उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन् । धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको मानिन्छ । आज घरमा राखिएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ ।
कुशेऔँशीलाई पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ । यस दिन छोराछोरीले आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्दै आशीर्वाद लिने गर्छन् । बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्दैछ । उत्तरगया भनेर समेत चिनिने गोकर्णमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । मेलाका लागि आवश्यक तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिनुभयो ।रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँशीका अवसरमा मेला लाग्ने गरेको छ यद्यपि भोटेकोसी बाढीका कारण हाल सो क्षेत्र क्षतिग्रस्त छ । दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्न भक्तजन वेत्रावती पुग्ने गर्दथे । बाढीका कारण वेत्रावतीमा मेला सञ्चालन हुने वा नहुने अझै निश्चित भइसकेको छैन ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिएमा सुख प्राप्त हुने विश्वास छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण वा अन्य तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै कुल स्थिर हुने धार्मिक मान्यता छ । यस दिन गरिएको सानो दानले पनि धेरै गुणा पुण्य प्राप्त हुने विश्वासका कारण कुशेऔँशीलाई पुण्य पर्वका रूपमा लिने गरिन्छ ।

