पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, टुटेको ‘लाइफलाइन’ जोडियो



नुवाकोट,भदौ २६ । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो। पुल बगेसँगै दुई नगरबीचको आवागमन मात्रै अवरुद्ध भएन, नुवाकोटलाई धादिङ हुँदै रसुवागढीसम्म जोड्ने महत्त्वपूर्ण ‘लाइफलाइन’ नै टुट्यो।

बाढीले घर, सडक र अन्य संरचनामा क्षति पुर्‍याएर आहत भएका सर्वसाधारणका लागि आवतजावत गर्ने पुलसमेत बग्दा समस्या थप जटिल बनेको थियो। त्यसपछि सरकारले देवीघाटमा तत्काल एक्रोब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्दै काम अघि बढाएको थियो।

नेपाली सेनाले दिनरात खटेर पाँच दिनमै ५७ दशमलव ९ मिटर लामो एक्रोब्रिज निर्माण गरी बिहीबार बेलुकादेखि सञ्चालनमा ल्याएको छ। पुल सञ्चालनमा आएसँगै देवीघाट हुँदै नुवाकोट र धादिङबीचको आवागमन पुनः सहज बनेको छ। यसले बाढीका कारण पीडामा रहेका सर्वसाधारणलाई केही हदसम्म राहतको अनुभूति गराएको छ।

बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनी पुल बनेपछि आफूहरूलाई ठूलो राहत भएको बताउनुहुन्छ। “भोटेकोशी बाढीले नजिकै रहेको गाउँघर फर्किन धौधौ भइरहेको थियो। आज नेपाली सेनाले छोटो समयमै पुल तयार पारेपछि बाढीले छियाछिया परेको मनमा केही हदसम्म भए पनि खुसी महसुस भएको छ,” उहाँले भन्नुभयो।

देवीघाटमा पुल नहुँदा घुमाउरो बाटो प्रयोग गर्नुपर्दा घर पुग्न दुई–तीन घण्टा लाग्ने गरेको उहाँको भनाइ छ। “अहिले पुल बनेपछि २५ मिनेटमै घर पुगिन्छ,” उहाँले भन्नुभयो।

बेलकोटगढी नगरपालिका–८ ढुङ्गानेगाउँका मनोज तामाङ पनि पुल निर्माणपछि आवतजावत सहज भएको बताउनुहुन्छ। “भोटेकोशीको बाढीले पुल बगाउँदा सर्वस्व नै गुमाएजस्तो अनुभव भएको थियो,” उहाँले भन्नुभयो, “पुल बनेपछि आशा पलाएको छ।”

नेपाली सेनाका रथी रञ्जित थापाले ५५ जना प्राविधिक जनशक्ति दिनरात खटिएर ७२ घण्टे कार्यअवधिमै पुल निर्माण सम्पन्न गरेको बताउनुभयो। “नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि प्राविधिक टोलीले निरन्तर काम गरेर कार्यसम्पन्न गरेको हो,” उहाँले भन्नुभयो।

देवीघाटमा भदौ २० गतेदेखि पुल निर्माण सुरु गरिएको थियो। काम सुरु गरेको पाँच दिन भए पनि वास्तविक कार्यअवधि ७२ घण्टाभन्दा बढी नरहेको रथी थापाले बताउनुभयो। प्राविधिक परीक्षणपछि नेपाली सेनाले पुल हस्तान्तरण गरेको हो।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले पुल निर्माणसँगै बाढीका कारण टुटेको पृथ्वीराजमार्गसँगको सम्पर्क पुनः जोडिएको बताउनुभयो। “नेपाली सेनाको अथक प्रयासले छोटो समयमा नै पुल तयार भयो। यो पुल बनेसँगै सर्वसाधारणको जीवनयापन धेरै सहज भएको छ,” उहाँले भन्नुभयो। नगरपालिकाले पुल निर्माणका लागि आवश्यक समन्वय र सहकार्य गरेको उहाँको भनाइ छ।

नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले पुल निर्माण गरेको हो। नेपाली सेनाको रणनीतिक जगेडा पुलका रूपमा गजुरीमा भण्डारण गरिएको एक्रोब्रिज देवीघाटमा ल्याएर फिटिङ गरी सञ्चालनमा ल्याइएको १४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काले बताउनुभयो।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना, विदुरका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार यसअघि देवीघाटको ५५ मिटर लामो बक्स गर्डर पुल बाढीले भत्काएपछि त्यही स्थानमा एक्रोब्रिज जडान गर्न सहज भएको हो। रातोमाटे क्षेत्रमा बाँकी रहेको सामान्य कटिङको काम पनि शुक्रबारसम्म सम्पन्न गरी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो।

नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार अमेरिकी प्रविधिमा आधारित एक्रोब्रिज गुणस्तरीय हुनुका साथै उच्च भारवहन क्षमता भएको पुल हो। यसको भारवहन क्षमता ६० टन रहेको छ।

प्रतिक्रिया दिनुहोस्