बेत्रावतीको अस्थायी बासमा बल्ल बल्यो उज्यालो, विस्थापितका अनुहारमा फर्कियो खुसी



नुवाकोट,भदौ २६ । नुवाकोटको भोटेकोशी बाढीबाट अति प्रभावित बेत्रावती क्षेत्रका विस्थापितहरू बस्दै आएको सावाराडाँडा बेत्रावती होल्डिङ सेल्टरमा धेरै दिनपछि बिहीबार साँझ झिलिमिली बत्ती बलेको छ। बाढीपछि घरबारविहीन बनेर टेन्टमा आश्रय लिइरहेका विस्थापितका लागि लामो समयदेखि अन्धकार बनेको सेल्टर उज्यालो बनेसँगै त्यहाँको वातावरणसमेत केही सहज र आशावादी बनेको छ।

भोटेकोशी बाढीले बेत्रावती क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि आफ्नो घर र थातथलो छाड्न बाध्य भएका ५१ घरपरिवार अहिले सावाराडाँडास्थित होल्डिङ सेल्टरमा टेन्ट टाँगेर बस्दै आएका छन्।दिन बित्दै गए पनि रात पर्दा भने अन्धकारसँगै विस्थापितको दैनिकी थप कष्टकर बन्दै आएको थियो।

अन्धकारमा मोबाइल चार्ज गर्नेदेखि रातको समयमा टेन्टबाहिर निस्केर हिँडडुल गर्नसमेत समस्या हुँदै आएको अवस्थामा कर्मयोग फाउन्डेसनले उपलब्ध गराएको जेनेरेटर र सहयोगी हात नबिन पाण्डे (सन्दिप) ले उपलब्ध गराएको विद्युत् सामग्री तथा अन्य सहयोगीहरूको सहभागितामा सेल्टरमा विद्युत् व्यवस्थापन गरिएको हो।

बत्ती बलेपछि सेल्टरमा बसिरहेका विस्थापितका लागि उज्यालो मात्र थपिएको छैन, दैनिक जीवनका सामान्य कामसमेत सहज भएका छन्। मोबाइल चार्ज गर्न, रातको समयमा बत्ती बाल्न तथा सुरक्षित रूपमा हिँडडुल गर्न सहज भएको विस्थापितहरूले बताएका छन्।

बाढीको पीडा, घर गुमाएको दुःख र अनिश्चित भविष्यका बीच लामो समय अँध्यारोमा रात कटाउँदै आएका विस्थापितका लागि सेल्टरमा बलेको यो उज्यालो सामान्य बत्तीभन्दा निकै अर्थपूर्ण बनेको छ। विपद्को समयमा सानो सहयोगले पनि पीडितको दैनिकीमा ठूलो राहत दिन सक्छ भन्ने उदाहरण सावाराडाँडा सेल्टरमा देखिएको छ।

उद्धार तथा राहत कार्यमा निरन्तर खटिँदै आउनुभएका प्रकाश डङ्गोलका अनुसार सेल्टरमा उज्यालोको व्यवस्थापन भएपछि विस्थापितहरू निकै खुसी भएका छन्। “उज्यालो व्यवस्थापन भएपछि यहाँ बस्नेहरूमा केही सहजता र खुसी देखिएको छ,” उहाँले बताउनुभयो।

बाढीले उजाडिएको बेत्रावतीमा घरहरू भत्किएका छन्, परिवारहरू विस्थापित भएका छन् र धेरैका पुराना दिनहरू सम्झनामा मात्र सीमित भएका छन्। तर, सावाराडाँडाको अस्थायी सेल्टरमा बलिरहेको यो उज्यालोले भने कठिन परिस्थितिमा पनि सहयोग र मानवीय संवेदनाको ज्योति निभेको छैन भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्