इभीमा आगलागी हुँदा चालकको मृत्यु, शवको सनाखत हुन सकेन
चितवन,भदौ २६ । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो । आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेको छ ।
आगलागीमा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शरीर पूर्ण रूपमा जलेका कारण मृतकको पहिचान हुन सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

