गोकर्णेश्वरमा पितृभक्तको घुइँचो, तर्पण र पिण्डदान गर्नेको भीड



काठमाडौँ,भदौ २६। काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।

कुशे औँसीका दिन दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न तथा पिण्डदान गर्ने परम्परा रहेकाले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको हो। वर्षभरि धार्मिक कृत्यमा आवश्यक पर्ने पवित्र कुश घरमा भित्र्याउने परम्परा रहेकाले यस दिनलाई कुशे औँसी भनिन्छ। धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।

भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ। गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने विषय धर्मशास्त्रमा उल्लेख छ।

बौद्ध धर्मावलम्बीले समेत बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा रहेको बौद्ध धर्मगुरु ऐतमान लामाले बताउनुभयो। उहाँका अनुसार यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन गरेको मानिन्छ।

भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा मेला लाग्ने भएकाले यस पर्वलाई गोकर्णे औँसीसमेत भनिन्छ। धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वरको समेत दर्शन गर्नुपर्ने विश्वास छ।

प्रतिक्रिया दिनुहोस्