अस्पतालको गेटबाहिर सुत्केरी गराइएको घटनामा छानविन, दोषीलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता



काठमाडौँ,भदौ २६। सरकारले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिला सुत्केरी भएको घटनाको सत्यतथ्य छानविन भइरहेको जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको जानकारी दिनुभयो । उहाँले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषी देखिए कारबाही गरिने स्पष्ट पार्नुभयो ।

सरकारले आमा र नवजात शिशुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको बताउँदै मन्त्री मेहताले गर्भावस्थादेखि प्रसूतिपछिसम्म महिलालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

सरकारी अस्पतालमा प्रसूति सेवा लिन आउने महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले सेवाग्राहीसँग उल्टै पैसा माग्नु गलत भएको बताउनुभयो । घटनामा संलग्न दोषीलाई छानविनका आधारमा सरकारले कारबाही गर्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्