भोटेकोशी बाढीका बेपत्ताको खोजीलाई निरन्तरता दिन वर्षमान पुनको माग



काठमाडौँ,भदौ २६ । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं नेता वर्षमान पुनले भोटेकोशी बाढीमा फसेका तथा बेपत्ता नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै नेता पुनले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, खानेपानी, ग्यास, इन्धन, लत्ताकपडालगायत अत्यावश्यक सामग्री तत्काल पुर्‍याउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले रसुवा र नुवाकोटका अति प्रभावित बस्तीमा अझै राहत सामग्री पुग्न नसकेको अवस्थामा सरकार आकाश र काठमाडौँमा मात्रै देखिएको भन्दै सत्तारुढ दलबाटै टिप्पणी आउनु दुःखद भएको बताउनुभयो ।

विपत्तिले सत्ता पक्ष र प्रतिपक्ष नछुट्याउने उल्लेख गर्दै नेता पुनले बाढीको विपद्का बेला आफ्नो पार्टी सरकारसँगै रहेको स्पष्ट पार्नुभयो । विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सबै राजनीतिक दल र पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

सबै पक्षलाई समेटेर विपद् सामना गर्ने राष्ट्रिय संयन्त्र गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राख्नुभएको प्रस्तावमा आफ्नो पार्टीको समर्थन रहेको पनि उहाँले बताउनुभयो ।

पीडित कुन दलसँग आबद्ध छन् भनेर नहेरी सरकारले सबै प्रभावित नागरिकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै नेता पुनले खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण ध्यान प्रभावित क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्