नागरिक एपबाटै विदेश भ्रमणको विवरण लिन सकिने
काठमाडौं,भदौ २६। अध्यागमन विभागले नेपाली नागरिकले विदेश भ्रमण गरेको विवरण अब नागरिक एपमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण अर्थात् भ्रमण विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको हो।
नयाँ व्यवस्था लागू भएसँगै भ्रमण विवरण लिन सेवाग्राही विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ। नागरिक एपमा सम्बन्धित व्यक्तिको राहदानी विवरण देखिने भएकाले व्यक्तिगत विवरणसमेत सुरक्षित रहने विभागको भनाइ छ।
यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण प्राप्त गर्न कठिनाइ हुने तथा विभागको कार्यबोझसमेत बढ्ने गरेको थियो। नयाँ प्रविधिमैत्री सेवाबाट सेवाग्राहीको समय र लागत दुवै बचत हुने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताउनुभयो।
उहाँका अनुसार नागरिक एपमार्फत प्राप्त गरिएको भ्रमण विवरणलाई विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन्।

