प्रसव पीडामा रहेकी महिलाबारे आफ्नो अभिव्यक्ति तोडमोड गरिएको भन्दै सांसद लामिछानेको आपत्ति
नुवाकोट,भदौ २६ । नुवाकोट क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसव पीडामा रहेकी महिलाको विषयमा आफूले दिएको अभिव्यक्तिलाई तोडमोड गरी समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाउनुभएको छ।
सांसद लामिछानेले आफ्नो राजनीतिक करियरमाथि दुष्प्रभाव पार्ने उद्देश्यले अभिव्यक्ति तोडमोड गरी समाचार सम्प्रेषण गरिएको भन्दै त्यस्ता सञ्चारमाध्यमको घोर भर्सना गर्नुभएको हो।
उहाँले सम्बन्धित सञ्चारमाध्यममा बोल्नुभन्दा करिब दुई घण्टाअघि नै शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उक्त विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी प्रसव पीडामा रहेकी महिलाले न्याय पाउनुपर्ने विषयमा स्वास्थ्यमन्त्रीसमक्ष आफ्नो धारणा राखिसकेको बताउनुभएको छ।
सांसद लामिछानेले भन्नुभएको छ, “यस मिडियामा बोल्नुभन्दा दुई घण्टा अगाडि नै मैले शिक्षा तथा स्वास्थ्य समितिमा यो विषयलाई गहनताका साथ अध्ययन गरी प्रसव पीडामा परेकी महिलाले न्याय पाऊन् भनेर मन्त्रीज्यूलाई नै समितिमा अभिव्यक्ति दिइसकेको छु।”
उहाँले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरी प्रस्तुत गरिएका समाचारका आधारमा भ्रममा नपर्न आग्रह गर्दै यस्ता सञ्चारमाध्यमको विश्वास नगर्नसमेत अनुरोध गर्नुभएको छ।

