भोटेकोशी बाढीपीडितलाई मधेसको सहयोगले राष्ट्रिय एकता बलियो बनाउँछ : प्रचण्ड



जनकपुरधाम, भदौ २७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताउनुभएको छ।

सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने क्रममा शुक्रबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले विपद्का बेला मधेस र पहाडबीच देखिएको सहयोग, सद्भाव र एकता प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले पहाडका नागरिकलाई अहिले मधेसको साथ र सहयोग आवश्यक रहेको भन्दै मधेसका जनताले खुला हृदयले सहयोग गरिरहेको बताउनुभयो। पहाडमा पीडा हुँदा मधेस र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने परम्पराले राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई थप बलियो बनाउने उहाँको भनाइ थियो।

दाहालले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव तीव्र रूपमा देखिन थालेको उल्लेख गर्दै भोटेकोशी बाढीको कारण र त्यसबाट भएको क्षतिको वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउनुभयो। ठूला मुलुकबाट भइरहेको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालजस्ता साना मुलुकले प्रत्यक्ष असर भोगिरहेको भन्दै उहाँले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो।

भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले अपेक्षित गति दिन नसकेको दाहालले टिप्पणी गर्नुभयो। बाढी आएको तत्कालीन समयमा अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ र उद्धार टोलीको सहयोग लिएर अत्याधुनिक प्रविधिको प्रयोग गर्न सके सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धार थप प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो।

उहाँले विपद् व्यवस्थापनका लागि सरकारसँग पर्याप्त पूर्वतयारी, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र अन्तर्राष्ट्रियस्तरको उद्धार क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यसअघि सिरहा र महोत्तरीमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका दाहाललाई जनकपुरधाम विमानस्थलमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्