अस्पतालअगाडि सडक पेटीमै शिशु जन्माएको घटनामा तीन छानबिन समिति
राजविराज,भदौ २७ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअगाडिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सङ्घ, प्रदेश र जिल्लास्तरमा तीन वटा छानबिन समिति गठन गरिएको छ।समितिहरूले शुक्रबारदेखि नै छानबिन प्रक्रिया सुरु गरेका छन्।
छानबिनका क्रममा घटनास्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी तथा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग सोधपुछ गरिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राञ्जित झाले घटनाको प्रकृति, पीडित महिलाको अवस्था, स्वास्थ्यकर्मीको व्यवहारलगायत विषयमा अनुसन्धान भइरहेको बताउनुभयो।
घटना भएको दिन काम विशेषले आफू काठमाडौँमा रहेको बताउँदै डा. झाले घटनाको प्रारम्भिक चरणमा प्रसूति वार्डमा कार्यरत चार स्वास्थ्यकर्मी, एक चौकीदार र एक सरसफाइकर्मीसहित छ जनालाई तत्काल निलम्बन गरिएको जानकारी दिनुभयो। छानबिन समितिको अन्तिम प्रतिवेदनका आधारमा निलम्बित कर्मचारीबारे थप निर्णय गरिने उहाँले बताउनुभयो। “छानबिनको अन्तिम टुङ्गो नलागेसम्म छ जनाकै निलम्बन कायम रहने छ”, उहाँले भन्नुभयो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा, मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले सदस्य किरणकुमारी साहको नेतृत्वमा र जिल्ला प्रशासन कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिशकुमार यादवको नेतृत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन गरेको हो।
तीनवटै समितिले घटनाबारे आ–आफ्नो ढङ्गले स्थलगत तथा तथ्यगत अनुसन्धान गरी सात दिनभित्र सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। राजविराज नगरपालिका–१४ परसाही टोलकी ३० वर्षीया बविता पासमान तीन दिनअघि सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह अस्पताल पुग्नुभएको थियो। स्वास्थ्यकर्मीले जाँचका लागि पुर्जामा रु. तीन हजार २०० शुल्क उल्लेख गरेपछि रकम अभावमा उपचार गराउन नसक्ने भन्दै उहाँ अस्पतालबाट बाहिरिनुभएको थियो।
यसअघि तीन सन्तानलाई बर्थिङ सेन्टर तथा अस्पतालमा जन्म दिनुभएकी पासमानले चौथो सन्तानलाई भने अस्पतालअगाडिको सडक पेटीमै जन्म दिनुभएको थियो। रकमको जोहो गर्न अस्पतालबाट बाहिर निस्किएका बेला उहाँले सडक पेटीमा शिशुलाई जन्म दिनुभएको दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न तीनवटै समिति गठन गरिएको हो।

