बाढी प्रभावित नुवाकोट र रसुवा पुग्न एमालेको टोली परिचालन



काठमाडौँ,भदौ २७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई निर्देशनसहित शुक्रबार बिदाइ गर्नुभएको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्थाबारे जानकारी लिन, बाढीपीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिनुभयो ।

उहाँले विपद्बाट प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउन स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि टोलीलाई आग्रह गर्नुभयो । राहत तथा उद्धारका काम प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई सहयोग पुर्‍याउन विभिन्न तहबाट राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्