प्रधानमन्त्री राहत कोषमा १३ अर्बभन्दा बढी मौज्दात



काठमाडौं,भदौ २७ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा जम्मा भएको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको छ । यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ ।

भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था र निकायबाट रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो ।

प्रतिक्रिया दिनुहोस्