चार जोखिमयुक्त हिमतालको पानी घटाउने सरकारको तयारी



काठमाडौँ, भदौ २७ । जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमतालमा पानीको मात्रा बढ्दै गएपछि सरकारले उच्च जोखिममा रहेका चार ठुला हिमतालको पानी घटाउने तयारी थालेको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार सङ्खुवासभाको तल्लो वरुण, सोलुखुम्बुको लुम्डिङ च्छो र होङ्गु टु तथा मनाङको ठुलागी हिमतालको पानीको सतह घटाइनेछ। यीमध्ये तल्लो वरुण सबैभन्दा ठुलो र गहिरो हिमताल हो। यसको पानीको सतह करिब तीनदेखि चार मिटर घटाउने योजना छ।

अध्ययनअनुसार नेपाल, भारत र चीनमा गरी ४७ हिमताल विस्फोटको उच्च जोखिममा छन्, जसमध्ये २५ वटा नेपालमा छन्।हिमताल विस्फोट हुँदा हिमबाढी निम्तिएर मानव बस्तीमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि पानीको सतह घटाउन लागिएको हो।

नेपाल सरकार, हरित जलवायु कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा करिब पाँच अर्ब रुपियाँको १५ वर्षे परियोजना सञ्चालन हुँदैछ। पहिलो सात वर्षमा हिमतालको पानी घटाउने र बाँकी आठ वर्ष सुरक्षा, मर्मतसम्भार तथा व्यवस्थापनमा खर्च गर्ने योजना छ।

पहिलो दुई वर्ष सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन र कार्ययोजना निर्माणमा खर्च हुनेछ। त्यसपछि विश्वव्यापी बोलपत्रमार्फत सम्बन्धित निकायलाई पानी घटाउने जिम्मेवारी दिइने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्