सल्यान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो



सल्यान,भदौ २७ । सल्यानमा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको दुर्घटनामा घाइते ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो।यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा ८ वर्षीय रेशम बुढाथोकी र १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको थियो।

शनिबार बिहान सिम्कबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते वलीको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका–५ सिम्खका २४ वर्षीय चालक भुपाल पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेका पुन बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ।

सोही ठाउँका २९ वर्षीय पारस बोहरा र त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि घाइते भएका छन। बोहराको अवस्था मध्यम रहेको छ भने बुढाथोकीको टाउकोमा चोट लागेकाले बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्