नुवाकोट र रसुवामा भेटिएका ६५ शव खम्बाक्याम्पमा सुरक्षित गाडियो



नुवाकोट,भदौ २७ । नुवाकोट र रसुवामा भेटिएका ६५ वटा शव नुवाकोटको विदुरस्थित खम्बाक्याम्प चौरमा सुरक्षित रूपमा गाडिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गाडिएका शवमध्ये नुवाकोटमा भेटिएका दुई र रसुवामा भेटिएका ६३ वटा छन्। भोटेकोसी–त्रिशूली बाढीपछि विभिन्न स्थानमा फेला परेका शव पहिचान हुन नसकेपछि सुरक्षित व्यवस्थापनका लागि खम्बाक्याम्प चौरमा गाडिएको हो।

शवको पहिचानका लागि डिएनए नमुना संकलन तथा परीक्षण गरिएको प्रहरीले जनाएको छ। परीक्षणका क्रममा शव र आफन्तको डिएनए नमुना मेल खाएमा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई शव जिम्मा लगाइनेछ।

पहिचान हुन बाँकी शवलाई सुरक्षित रूपमा गाडिएपछि भविष्यमा पहिचान खुलेको अवस्थामा परिवारलाई जिम्मा लगाउन सहज हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्