नेपाललाई प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट



काठमाडौँ,भदौ २७ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले तेस्रो संस्करणको एसिसी प्रिमियर कपको उपाधि जितेको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।

उपाधिसँगै नेपाल सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । यसअघि सन् २०२३ मा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो ।

फाइनलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव १ ओभरमा २६९ रनमा अलआउट भयो । युएईका राहुल चोपडाले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए ।

नेपालका लागि करण केसीले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक/एक विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो ।

गुलशनकुमार झाले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२ रन बनाए । यो एकदिवसीय अन्तर्राष्ट्रियमा गुलशनको छैटौँ अर्धशतक हो । अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, ईशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाए ।

युएईका लागि इब्रार अहमदले चार तथा खुजैमा तनवीरले दुई विकेट लिए । हैदर अली र अबीद उस्मानीले एक/एक विकेट लिए । गत संस्करणको विजेता युएई भने नेपालसँग पराजित भएपछि सन् २०२७ को एसिया कपमा स्थान बनाउनबाट वञ्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्