सुदूरपश्चिम सरकारले बजेट पुनर्लेखन प्रक्रिया अघि बढाउने
धनगढी,भदौ २७ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी, विगत १० महिनादेखि प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत वैकुण्ठप्रसाद अर्यालको सरुवा भएकाले उहाँलाई धन्यवाद दिँदै आगामी कार्यकालका लागि शुभकामना दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

