मोटरसाइकलको चक्कामा दुपट्टा बेरिँदा महिलाको मृत्यु



सल्यान,भदौ २७ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टाट्केमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार त्रिवेणी गाउँपालिका–३ को भित्री कच्ची सडकखण्डमा रा ४ प २४३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकलको पछाडि सवार दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोला निवासी अन्दाजी ३५ वर्षीया जिता केसीले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि उनी मोटरसाइकलबाट खसेकी थिइन् । त्यसक्रममा सडकमा लतारिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।

मोटरसाइकल त्रिवेणी गाउँपालिका–३ पिङखोला निवासी अन्दाजी २८ वर्षीय हरिबहादुर वलीले चलाएका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्