वरिष्ठ पत्रकार युवराज गौतमको निधन
काठमाडौं,भदौ २७ — वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ।
श्वासप्रश्वासमा समस्या भएपछि शनिबार बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा गौतमलाई बेहोस अवस्थामा उपचारका लागि लगिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा मुटुको चाल बन्द भइसकेको पाइएको र उपचारका क्रममा उहाँको निधन भएको चिकित्सक डा. दिवाकर सिंह थापाले जानकारी दिनुभयो।
सन् १९६० मा इलाममा जन्मनुभएका गौतम पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो। उहाँ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत हुनुहुन्थ्यो।
पत्रकारितासँगै लेखन क्षेत्रमा समेत सक्रिय गौतमका विभिन्न लेख तथा रचनाहरू प्रकाशित छन्। उहाँको अन्त्येष्टि आइतबार गरिने जनाइएको छ।

