बाढीले मोटरेबल पुल बगाएपछि बेत्रावतीमा फड्के पुल निर्माण



नुवाकोट,भदौ २७ । नुवाकोटको बेत्रावतीमा गत भदौ १० गते आएको बाढीले दुई वटा मोटरेबल पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत सहज बनाउन फड्के पुल निर्माण थालिएको छ।

स्थानीय साधनस्रोतको प्रयोग गरी बेत्रावतीको पुरानो झोलुङ्गे पुलनजिकै फड्के पुल निर्माण भइरहेको हो। पुल निर्माणमा सुरक्षाकर्मी, नेपाल स्काउटका सदस्य, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका स्वयंसेवक सक्रिय भएर जुटेका छन्।

मोटरेबल पुल बाढीले बगाएपछि बेत्रावती नदी वारिपारि आवतजावत गर्न स्थानीयवासीलाई समस्या हुँदै आएको थियो।दैनिक आवतजावत तथा अत्यावश्यक कामका लागि सहज होस् भन्ने उद्देश्यले स्थानीयको पहलमा अस्थायी फड्के पुल निर्माण अघि बढाइएको हो।

बाढीपछि यातायात सम्पर्क विच्छेद भएको अवस्थामा स्थानीयवासी, सुरक्षाकर्मी र स्वयंसेवकको सहकार्यमा निर्माण भइरहेको फड्के पुलले तत्कालका लागि नदी वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्