छोटो भिडियोले भ्रम फैलाउन खोजियो, शिक्षा सुधारको अभियान रोकिँदैन : शिक्षामन्त्री पोखरेल
काठमाडौं,भदौ २७ । शिक्षा मन्त्री सस्मित पोखरेलले छोटो भिडियो क्लिपका आधारमा घटनाको सम्पूर्ण सन्दर्भ बंग्याएर भ्रम फैलाउने प्रयास भएको बताउनुभएको छ । उहाँले यस्ता भ्रम र भ्रामक प्रचारले शिक्षा सुधारको अभियानलाई रोक्न नसक्ने स्पष्ट पार्नुभएको छ ।
मन्त्री पोखरेलका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकबाट सुझाव सङ्कलन भइरहेको छ । विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभएको छ ।
आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणाका विषयमा समेत प्रत्यक्ष संवाद भइरहेको उहाँको भनाइ छ ।
सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० जनाभन्दा बढी सरोकारवालाको सहभागिता रहेको भन्दै मन्त्री पोखरेलले धेरैभन्दा धेरै विद्यार्थी, शिक्षक र अभिभावकका आवाज सुन्ने उद्देश्य रहेको बताउनुभयो । तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि कार्यक्रम प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उहाँले स्पष्ट पार्नुभयो ।
उक्त घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बंग्याउने प्रयास भएको मन्त्री पोखरेलको दाबी छ । लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन उचित नहुने उहाँले बताउनुभयो ।
घटनापछि पनि आफूहरूले शिक्षा सुधारको अभियानलाई निरन्तरता दिएको भन्दै पोखरेलले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको जानकारी दिनुभयो । उहाँका अनुसार एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको छ ।
मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक कामबाट असन्तुष्ट भएर भ्रम फैलाउने प्रयास भएको हुनसक्ने टिप्पणीसमेत गर्नुभएको छ । उहाँले आफूहरू राजनीतिक स्टन्ट वा हल्ला गर्न नभई स्थलगत रूपमा पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएको बताउनुभयो ।
‘हल्लाभन्दा काम ठूलो हो’ भन्ने धारणा राख्दै उहाँले आफ्नो काम र नियतको मूल्याङ्कन जनताले स्वयं गर्ने बताउनुभएको छ ।

