भोटेकोशी बाढीलाई ‘हिमालय विपत्ति’ भन्दै पुनरुत्थानमा जुट्न प्रचण्डको आग्रह



त्रिशूली (नुवाकोट),भदौ २७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको पुनरुत्थानका लागि सबै राजनीतिक दल, सरकार र सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।

धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका–१० भैँसेसम्म बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि विदुरमा आयोजित सर्वपक्षीय छलफलमा उहाँले भोटेकोशीको बाढीलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले यसलाई ‘हिमालय विपत्ति’को संज्ञा दिँदै आगामी दिनमा यस्ता जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्नुभयो।

बाढीपछि खोज तथा उद्धार, राहत वितरण र होल्डिङ सेन्टरमार्फत प्रभावितलाई दिइएको सहयोग महत्वपूर्ण भए पनि अब पुनर्वासमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो। क्षतिग्रस्त सडक, पुल, विद्यालयलगायत सार्वजनिक सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याएर प्रभावितको दैनिकी सहज बनाउनुपर्ने उहाँले बताउनुभयो।

होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारका लागि स्थानीय तहको अगुवाइमा तत्काल अस्थायी आवास निर्माण गर्न उहाँले आग्रह गर्नुभयो। स्थायी आवासको दीर्घकालीन समाधानका लागि समय लाग्ने भएकाले होल्डिङ सेन्टरको बसाइ छोट्याउन अस्थायी आवास निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

बाढी प्रभावित क्षेत्रमा आफ्नो पार्टी पहिलो दिनदेखि नै सक्रिय रहेको बताउँदै प्रचण्डले योङ कम्युनिष्ट लिगमार्फत तत्काल १५० परिवारका लागि अस्थायी आवास निर्माण गर्न जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले अन्य राजनीतिक दल तथा सङ्घसंस्थालाई पनि पुनरुत्थानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

भोटेकोशीमा आएको बाढी असामान्य प्रकृतिको रहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका कारण आगामी दिनमा पनि हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने बताउनुभयो। नदीको जलसतह पुगेको क्षेत्रसम्म बस्ती बसाउन नहुने र प्रभावितको जग्गाको वैकल्पिक व्यवस्थासहित नयाँ दीर्घकालीन नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

“विगतमा गोरखा भूकम्पपछि सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर नयाँ संविधान जारी गर्दै एकताको सन्देश दिएका थियौँ। यस विपत्तिमा पनि सम्पूर्ण शक्ति एकजुट भई सङ्कटको घडीमा नेपाली एकताबद्ध हुने सन्देश दिन आवश्यक छ,” प्रचण्डले भन्नुभयो।वउहाँले बाढी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरको अवस्थाबारे अनुगमन गर्नुका साथै प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्