बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत, ६ महिनासम्म उपलब्ध हुने
काठमाडौं,भदौ २८ । रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराइने भएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखा जिल्लाका १५ स्थानीय तहका प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चार जनासम्म सदस्य रहेको परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यका लागि प्रतिमहिना दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ।
बाढीका कारण पूर्णरूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका परिवारले यस्तो राहत पाउनेछन्। तर होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबासको व्यवस्था गर्न चाहने प्रभावित परिवारलाई मात्र वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेल अधिकतम ६ महिनासम्म उक्त रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
यसका लागि प्राधिकरणले शनिबार सम्बन्धित पाँचै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो। राहतले बाढीबाट घरबारविहीन भएका परिवारलाई तत्काल अस्थायी बसोबास र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

