मध्यपूर्वमा तनाव नबढाउन ब्रिक्स राष्ट्रको आह्वान



नयाँ दिल्ली,भदौ २८। चीन, रुस, इरान र भारतसहित ११ राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्य राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आह्वान गरेका छन्।

नयाँ दिल्लीमा शनिबार सम्पन्न शिखर सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा ब्रिक्स राष्ट्रहरूले मध्यपूर्व तथा पश्चिम एसियामा तनाव थप बढाउने गतिविधिबाट सबै पक्षलाई टाढा रहन आग्रह गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, “हामी मध्यपूर्व तथा पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौँ र अधिकतम संयम अपनाउन तथा परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौँ।”

मे महिनामा नयाँ दिल्लीमै भएको ब्रिक्सका विदेशमन्त्रीहरूको बैठकमा संयुक्त वक्तव्य जारी गर्न सदस्य राष्ट्रहरूबीच सहमति हुन सकेको थिएन। इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्ससहितका सदस्य राष्ट्रहरू फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायलको हमलाबाट उत्पन्न युद्धका विषयमा विभाजित थिए। तर आयोजक भारतले गरेको कूटनीतिक पहलपछि शनिबार नेताहरूको बैठकबाट संयुक्त विज्ञप्ति जारी भएको हो।

ब्रिक्स राष्ट्रहरूले नागरिक पूर्वाधार तथा आणविक सुविधामाथि भएका आक्रमणको समेत निन्दा गरेका छन्। विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका सम्बन्धित प्रस्तावविपरीत नागरिक पूर्वाधार र शान्तिपूर्ण आणविक सुविधामाथि जानाजानी भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

आणविक सुरक्षा र सुरक्षात्मक सतर्कता सशस्त्र द्वन्द्वका समयमा समेत कायम राख्नुपर्नेमा ब्रिक्सले जोड दिएको छ। मानिस तथा वातावरणलाई सम्भावित क्षतिबाट जोगाउन आणविक सुविधाको सुरक्षा कुनै पनि अवस्थामा कमजोर पार्न नहुने विज्ञप्तिमा उल्लेख छ।

ब्रिक्सको दुईदिने शिखर सम्मेलन उद्घाटन गर्दै चीनका राष्ट्रपति सी जिनपिङले मध्यपूर्वको युद्ध अन्तर्राष्ट्रिय समुदायको साझा हितमा नरहेको बताउनुभएको थियो। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मासौद पेजेस्कियान सहभागी हुनुहुन्छ।

संयुक्त विज्ञप्तिमा विश्वमा बढ्दो ध्रुवीकरण र अविश्वासप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा सुदृढ गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। साथै अन्तर्राष्ट्रिय कानुनअनुसार विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र ऊर्जाको सहज प्रवाह कायम राख्न मिलेर काम गर्नुपर्नेमा जोड दिइएको छ।

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान पनि सम्मेलनमा सहभागी हुनुहुन्छ। इजिप्टका राष्ट्रपति अब्देल फत्तह अल–सिसी तथा साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान शनिबारपछि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।

ब्रिक्स समूह विश्वका ठूला उदयमान अर्थतन्त्रहरूले पश्चिमी शक्तिको प्रभुत्व रहेका अन्तर्राष्ट्रिय संस्थामा आफ्नो प्रभाव बढाउने उद्देश्यसहित सन् २००९ मा स्थापना गरेका हुन्।
–एएफपी

प्रतिक्रिया दिनुहोस्