‘बेहुली’लाई दर्शकको उत्साहजनक साथ, प्रदर्शनकै दिन थपिए शो
काठमाडौं,भदौ २८ । शुक्रबारदेखि देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बेहुली’ले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाएको छ । शनिबार बिदाको दिन हलमा दर्शकको चाप अझ बढेपछि चलचित्रका थप शोहरू सञ्चालनमा ल्याइएको निर्माण पक्षले जनाएको छ ।
देशभर करिब १०० शोबाट प्रदर्शन सुरु गरेको ‘बेहुली’ले दर्शकको उच्च माग पाएपछि मल्टिप्लेक्स तथा एकल स्क्रिन हलमा शो सङ्ख्या थप गरिएको हो । शनिबार चलचित्र हेर्न हलमा दर्शकको उल्लेख्य भीड देखिएको वितरक गोविन्द शाहीले बताउनुभयो ।
चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँसहितको टोलीले काठमाडौंका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ । साक्षात्कारका क्रममा दर्शकबाट चलचित्रले सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेलले स्तरीय तथा दर्शकले रुचाउने कथावस्तुका कारण ‘बेहुली’ दर्शकको रोजाइमा परेको बताउनुभयो । उहाँले चलचित्रले प्रदर्शनको सुरुआती दिनमै पाएको प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताउनुभयो ।
वितरक गोविन्द शाहीले शुक्रबार चलचित्रले सुखद व्यापार गरेको र शनिबार बिदाको दिन भएकाले हलमा दर्शकको चाप उल्लेख्य रूपमा बढेको बताउनुभयो । उहाँका अनुसार दर्शकको मागलाई ध्यानमा राख्दै हल सञ्चालकसँगको समन्वयमा प्रदर्शनकै क्रममा थप शो उपलब्ध गराइएको हो ।
‘बेहुली’ले नेपाली समाजभित्रका यथार्थ भावना, युवा–युवतीको मनोभाव तथा परिवारका मार्मिक कथालाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रको लेखन माधव शर्माले गर्नुभएको हो भने निर्देशन शशान कँडेलले गर्नुभएको छ ।
चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुनुहुन्छ । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सह–निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहनुभएको छ ।

