आज दर खाने दिन, चारदिने तीज पर्व सुरु



काठमाडौं,भदौ २८ । हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाने तयारी गरेका छन् । भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ ।

तीजको पहिलो दिन माइतीले चेलीबेटी, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध तथा आडिला परिकार खाने चलन छ । गहुँको रोटी र घिउ खाँदा व्रत बस्नेका लागि थप आडिलो हुने धर्मशास्त्रविद्हरू बताउँछन् । तृतीयाका दिन निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन शक्ति प्राप्तिका लागि दर खाने परम्परा रहेको हो ।

धर्मशास्त्रअनुसार तीजको व्रत बस्नेले दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता छ । दर खाने चलन पछिल्ला वर्षमा महिनौँ अघिदेखि सुरु हुन थाले पनि शास्त्रीय रूपमा भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने दिन तोकिएको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वसन्ध्यामा दर खाने परम्परा रहेको उहाँको भनाइ छ ।

तीज नेपाली महिलाले वर्षभर भोगेका दुःख, पीर र मर्का पोख्ने पर्वका रूपमा समेत स्थापित छ । जन्मघर छाडेर कर्मघरमा पुगेपछि भोगेका सुखदुःखलाई महिलाले तीजका गीतमार्फत व्यक्त गर्ने गरेका छन् । पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण नेपालमा सीमित रहेको तीज भारतका विभिन्न स्थानमा समेत मनाउन थालिएको छ भने तीजका गीत भारतीय सञ्चारमाध्यममा समेत बज्न थालेका छन् ।

तर पछिल्ला वर्षमा तीजका नाममा बढ्दो तडकभडक र उच्छृङ्खलताप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । समाजशास्त्री कीर्तिकुमार राईका अनुसार एक महिनाअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने प्रवृत्तिले तीजको मौलिक संस्कृतिलाई विकृत बनाउँदै लगेको छ । यस्तो प्रवृत्तिले आर्थिक अवस्था कमजोर भएका परिवारलाई हीनताबोध गराउने भएकाले रोक्नुपर्ने उहाँको भनाइ छ ।

सरकारी कार्यालयमै तीज कार्यक्रमका नाममा लामो समयअघिदेखि तामझाम गर्ने प्रवृत्ति बढेकामा पनि संस्कृतिविद्हरूले असन्तुष्टि जनाएका छन् । नागरिकको करबाट सञ्चालन हुने सरकारी संस्थाले नै सांस्कृतिक विकृति बढाउने गतिविधिलाई प्रोत्साहन गर्नु उचित नभएको धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ ।

दर खाएपछि सोमबार हरितालिका व्रत मनाइनेछ । त्यसपछि चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि चारदिने तीज पर्व समापन हुनेछ । यस वर्ष भदौ ३० गते मङ्गलबार गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख छ ।

हरितालिका तीजको धार्मिक सम्बन्ध सत्ययुगसँग जोडिएको छ ।पुराणअनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन तपस्या गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएका थिए । त्यहीँ पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ ।

साथीहरूले पार्वतीलाई हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ । तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । यस अवसरमा महिलाहरू पुराना साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी वर्षभरका सुखदुःख साटासाट गर्ने गर्छन् ।

तीज सुरु भएसँगै रेडियो तथा टेलिभिजनमा तीजका गीत घन्किन थालेका छन् । तीजपछि नेपालीका प्रमुख पर्व बडादसैँ र तिहारसमेत क्रमशः नजिकिँदै जाने भएकाले अहिलेबाटै नेपाली समाज पर्वमय बन्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्