जडीबुटीको भण्डार सुदूरपश्चिम, प्रशोधन उद्योगमा भने शून्य
सुदुरपश्चिम,भदौ २८ । सुदूरपश्चिममा वार्षिक करिब ६ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलनको सम्भावना भए पनि प्रदेशमा हालसम्म जडीबुटी प्रशोधन केन्द्र वा आयुर्वेद औषधि उत्पादन उद्योग स्थापना हुन सकेको छैन।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदनअनुसार यहाँबाट वार्षिक करिब रु एक अर्ब २४ करोड मूल्य बराबरको जडीबुटी निकासी गर्न सकिने सम्भावना छ। बझाङ, डोटी, दार्चुला, अछाम, बाजुरालगायत जिल्लामा यार्सागुम्बा, पाँचऔँले, कुटकी, चिराइतो, टिमुर, गुर्जो, तेजपातलगायत बहुमूल्य जडीबुटी पाइन्छन्।
तर कच्चा जडीबुटी सस्तोमा बाहिर पठाएर त्यसैबाट बनेका औषधि महँगोमा प्रदेशमै खरिद गर्नुपर्ने अवस्था छ। प्रादेशिक आयुर्वेद चिकित्सालयका अनुसार प्रदेशका विभिन्न आयुर्वेद संस्थाले वार्षिक करिब रु सात करोडको औषधि बाहिरबाट ल्याउने गरेका छन्।
चिकित्सालयले आर्थिक वर्ष २०८२/८३ मा करिब रु ३२ लाखको जडीबुटीजन्य कच्चा पदार्थ खरिद गरी रु एक करोडभन्दा बढी बजार मूल्यका औषधि उत्पादन गरेको जनाएको छ। यसले प्रदेशमै प्रशोधन र औषधि उत्पादन उद्योग सञ्चालनको सम्भावना पुष्टि गरेको जानकारहरूको भनाइ छ।
प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले जडीबुटी प्रशोधन उद्योग, गुणस्तर परीक्षण प्रयोगशाला, ब्रान्डिङ तथा निर्यात प्रवर्द्धन गर्ने नीति अघि सारेको छ। प्रदेश सरकारले यसै आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरी सरकारी वा सरकारी–निजी साझेदारीमा बहुउद्देश्यीय जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ। विशेषज्ञहरूका अनुसार मध्यमस्तरको आयुर्वेद औषधि उत्पादन केन्द्रका लागि रु ४० देखि ६० करोडसम्म लागे पनि प्रारम्भिक पूर्वाधार केही करोड रुपैयाँबाटै सुरु गर्न सकिनेछ।

