पुल बगेपछि आकाशबाट गाउँमा पुग्दैछ राहत, ड्रोनले बोकेर लैजान थाल्यो खाद्यान्न
नुवाकोट,भदौ २८ । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाका सडक र पुल मात्रै बगाएन, धेरै बस्तीको बाहिरी दुनियाँसँगको नियमित सम्पर्कसमेत टुटाइदियो। त्रिशूली र भोटेकोसी नदीमाथिका पुलहरू बगेपछि पैदल वा सवारीसाधनबाट सहजै पुग्न नसकिने गाउँमा दैनिक उपभोग्य सामग्री पुर्याउनु चुनौती बनेको छ। यस्तो अवस्थामा राहत लिएर आकाशमा उडेको ड्रोन प्रभावित बस्तीका लागि आशाको माध्यम बनेको छ।
रसुवा सदरमुकाम धुन्चेबाट अहिले ड्रोनमार्फत प्रभावित गाउँमा खाद्यान्न ढुवानी गर्न थालिएको छ। जमिनबाट पुग्न कठिन बनेका बस्तीमा आकाशमार्फत राहत पुर्याउने प्रयास थालिएपछि बाढीपीडितले केही राहत महसुस गरेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार धुन्चेबाट ठुलोहाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी भइरहेको छ। बाढीले पुर्याएको क्षतिका कारण बाटो अवरुद्ध भएका र पुलहरू बगाएका क्षेत्रमा मानवीय आवश्यकताका सामग्री पुर्याउन ड्रोन प्रयोग गरिएको हो।
बाढीपछि कतै सडक छैन, कतै पुल छैन। नदीले बनाएको प्राकृतिक अवरोधका कारण राहत बोकेर जाने परम्परागत माध्यम प्रभावकारी बन्न नसकेको अवस्थामा प्रविधिको प्रयोगले दुर्गम बस्ती र राहतबीचको दूरी घटाएको छ। धुन्चेबाट उडेको ड्रोनले खाद्यान्न बोकेर प्रभावित गाउँतर्फको यात्रा तय गरिरहेको दृश्य अहिले विपद्मा परेका नागरिकका लागि राज्य र समुदायको साथको प्रतीक बनेको छ।
बाढीले भौतिक संरचना तहसनहस पारे पनि प्रभावित नागरिकसम्म अत्यावश्यक सामग्री पुर्याउने प्रयास भने रोकिएको छैन। पुल र बाटो पुनःनिर्माण हुन समय लाग्ने भएकाले तत्कालका लागि ड्रोनजस्ता वैकल्पिक माध्यमबाट राहत पुर्याउने कामले प्रभावित बस्तीमा खाद्यान्न अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।

