अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने सन्दीप
काठमाडौं,भदौ २८ । नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलरको कीर्तिमान बनाएका छन् ।
एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको फाइनलमा एक विकेट लिएसँगै सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गरेका हुन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा १५८ र टी–२० अन्तर्राष्ट्रियमा १४२ विकेट लिएका छन् ।
सन्दीपले एकदिवसीयमा ७९ तथा टी–२० अन्तर्राष्ट्रियमा ७८ खेल खेलेका छन् । फाइनलमा युएईलाई पराजित गर्दै नेपाललाई विदेशी भूमिमा एसिसी प्रिमियर कपको उपाधि दिलाएसँगै उनी विदेशी मैदानमा नेपाललाई प्रिमियर कप जिताउने पहिलो कप्तानसमेत बनेका छन् ।
यसअघि सन् २०२३ मा नेपालले घरेलु मैदानमा एसिसी प्रिमियर कपको उपाधि जित्दा टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए ।
सन्दीपले एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’को उपाधि जित्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । सन् २०२३ को संस्करणमा उनले पाँच रन बनाउनुका साथै १३ विकेट लिएर उत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए ।
यसपटक पनि सन्दीपले बलिङमा प्रभावशाली प्रदर्शन गरे । एसिसी प्रिमियर कप २०२६ मा उनले छ खेलमा २.९८ को सानदार इकोनोमी रेटमा सर्वाधिक १७ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शनकै कारण नेपालले एसिया कपमा दोस्रोपटक स्थान बनाउन सफल भएको हो ।

