रुकुम पश्चिम जिप दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु
रुकुम पश्चिम,भदौ २८। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै आज बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बदबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप दुई घाइतेलाई उद्धार गर्न हेलिकप्टर आउँदै छ ।
अन्य घाइतेको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ । दुर्घटनामा चालकसहित १३ जना सवार रहेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । यसअघि प्रारम्भिक सोधपुछका क्रममा ११ जना सवार रहेको जानकारी प्राप्त भए पनि थप अनुसन्धान तथा सम्बन्धित व्यक्तिसँगको सोधपुछपछि यात्रुको सङ्ख्या १३ रहेको खुलेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार जिपमा सवार सबैको पहिचान भने अझै खुल्न सकेको छैन । सानीभेरी गाउँपालिका–६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटनामा परेको थियो । जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

